ललितपुर (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले ललितपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पहल गर्न ललितपुर स्थानिय निकायका निर्वाचित पदाधिकारीलाई सुझाएको छ ।
ललितपुरका १ महानगरपालिका, २ नगरपालिका र ३ गाँउपालिकाका जनप्रतिनिधिलाई थ्री स्टारले बधाई तथा शुभकामना दिन शुक्रबार आयोजित कार्यक्रममा क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘ ललितपुरका सबै स्थानिय निकायको सहकार्यमा ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि काम अघि बढोस् भन्नका लागि यो निर्वाचित पदाधिकारीसमक्ष क्लब आग्रह गर्दछ । यहाँहरुको कार्याकालमा नेपाली खेलकुद विकासका लागि भौतिक पूर्वाधार निर्माणमा तीब्रता पाओस् भन्ने कामना गर्दैछौं । ’
फुटबल विकासमा क्रियासिल क्लबको आफनै आर्थिक श्रोत नभएका कारण निकै कठिनाई भोग्दै आएको प्रसंग कोटउँदै कार्यवहाक अध्यक्ष जोशीले थपे, ‘आउने दिनमा आर्थिक श्रोत जुटाउनका लागि ललितपुरका सबै स्थानिय निकायसँग क्लब सहकार्य गरेर अघि बढ्न चाहन्छ, त्यसमा निर्वाचित यहाँहरु सबै प्रति हामी आशावादी छौं । ’
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबका तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको फुटबल विकासमा योगदानको स्मरण गर्दै भने,‘श्रेष्ठको स्मृतिमा आयोजना भइरहेको यू १८ प्रतियोगिता हामी सहयोग गर्नेछौं ।’
मेयर महर्जनले थ्री स्टारसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको उल्लेख गर्दै क्लब भवन बनाउनका लागि जग्गा उपलब्ध गराउने वचन दिए । थ्री स्टारका उपाध्यक्ष निर्मल रत्न शाक्य र सचिव कुलबहादुर महर्जन महानगरपालिकाको क्रमशः १६ र ७ नंम्बर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
क्लबका महासचिव सञ्जिव शिल्पकारले क्लबले फुटबलका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती आर्जन गरेको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले खेलकुद विकासलाई अघि बढाउन निर्वाचित पदाधिकारीलाई सुझाव दिए ।
क्लबले महानगरपालिकाका मेयर, उपमेयर, वडाअध्यक्ष सदस्य तथा अन्य नगरपालिकाका पदाधिकारीलाई नेवारी परम्परा अनुसार बधाई दिएको थियो ।