तनहुँ (हाम्रो खेलकुद) – आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्तीको अवसरमा यसै महिना तनहँुको भाुन रंगशालामा १३ औं राष्ट्रिय खुला नकआउट भानु कप फुटबल प्रतियोगितासहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
भानु नगरपालिकाको भन्सार युवा परिवारको आयोजना तथा सिजन युवा क्लब, चण्डि युवा क्लब, भिमसेन युवा क्लब र मिलिजुली तमु युवा क्लबको सहआयोजनामा असार २१ देखि सुरु हुने फुटबल प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र हरेक खेलको म्यान अफ दी म्याचले पुरस्कार प्राप्त गर्नेछन् । आयोजकले असार १० देखि १९ गते सम्म सहभागी टोली दर्ताका लागि समय दिएको छ । एउटा टोलीले दर्ता शुल्क ९ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
भन्सार युवा परिवारका व्यवस्थापक इशान श्रेष्ठका अनुसार फुटबलमा ३५ टोली सम्मको सहभागिता हुने अनुमान गरिएको छ । असार २९ गते सम्म हुने प्रतियोगितामा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरिनेछ । छेलो र बाघचालको विजेताले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।