काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलहरु असार ३१ गतेबाट युएईको अल आइनमा सुरु हुँदैछ। त्यसै प्रतियोगितामा सहभागिता जनाउन एन्फाले ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको बताएको छ। तर ३५ खेलाडीको नामावली भने अझै सार्वजनिक गरिएको छैन।
यद्दपी ११ जना राष्ट्रिय खेलाडी सम्मिलित हुने जानकारी टोलीका व्यवस्थापक संजिव मिश्रले यसअघि दिएका थिए। राष्ट्रिय टोलीको डिफेन्स सम्हालिरहेका ४ मध्ये ३ खेलाडी २३ वर्ष मुनिको उमेरका रहेका छन्। यस्तै टोलीमा अन्जन बिष्ट, बिमल घर्ति मगर र हेमन गुरुङको उपस्थितिले टोलीको आक्रमण बलियो हुने देखिएको छ। २ साता अघि भारतविरुद्धको खेलमा डेब्यु गरेका हेमन्त थापा मगर पनि टोलीमा रहेका छन्।
राष्ट्रिय टोलीका ११ सदस्य निम्नानुसार रहेका छन्:
बिमल घर्ति मगर – फरवार्ड
अन्जन बिष्ट – विङ्गर
हेमन गुरुङ – मिडफिल्डर
अनन्त तामाङ – डिफेन्डर
आदित्य चौधरी – डिफेन्डर
कमल श्रेष्ठ – डिफेन्डर
हेमन्त थापा मगर – मिडफिल्डर
सुमन लामा – विङ्गर
एलेन न्यौपाने – गोलरक्षक
सुनिल बल – विङ्गर
दिनेश राजबंशी – डिफेन्डर
चोटका कारण शल्यक्रिया गरेपछि डिफेन्डर आदित्य चौधरीले भने यस प्रतियोगिता गुमाउने पक्का भएको छ। अन्य खेलाडीमध्य अधिकांशले प्रशिक्षण सुरु गरिसकेका छन् भने केहि खेलाडी सामान्य चोटका कारण विश्राममा छन्।
यसबाहेक टोलीमा नेपालले साफ यू-१९ च्याम्पियनसिप जितेको टोलीका सदस्य पनि रहेका छन्। विङ्गर विश्वास श्रेष्ठ, गोलरक्षक रोमन रसाइली, डिफेन्डर अमित तामाङ लगायतका खेलाडी टोलीमा रहेका छन्। एन्फाले मोफसलमा भएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेका केहि खेलाडीलाई पनि प्रशिक्षणमा बोलाएको छ।