पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह बि अन्तर्गत गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले बायर्न म्युनिखमाथि ३-० को शानदार जित दर्ता गरेको छ । पिएसजीको जितमा ड्यानी एल्भेस, एडिन्सन काभानी र नेयमारले एकएक गोल गरेका थिए ।
आफ्नो घरेलु लिगमा अपराजित रहेको पिएसजीले बायर्न विरुद्ध दोस्रो मिनेटमै अग्रता लिएको थियो । नेयमारले बल अघि बढाउँदै एल्भेसलाई दिएको पासलाई उनले राम्रो प्रहार गर्दै स्कोर १-० बनाएका थिए ।
त्यसपछि खेलको ३१ औँ मिनेटमा पिएसजीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । किलियन बाप्पेको सुन्दर पासमार्फत काभानीले गरेका बलियो प्रहारले सिधै पोस्टको दिशा लिएको थियो ।
त्यस्तै बाप्पेले दोस्रो हाफको ६३ औँ मिनेटमा फेरी अर्को गोल सिर्जना गरे । बायर्न डिफेन्सलाई छक्याउँदै बल अघि बढाएका बाप्पेको प्रहार डिफेन्डरलाई लागेर फर्किँदा नेयमारले त्यो मौकाको सदुपयोग गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए ।
पछिल्लो खेलमा विवादमा अल्झिएका काभानी र नेयमार यस खेलमा एकअर्कालाई राम्रो अवसर सिर्जना गरेको देखिए । अर्को तर्फ बायर्नका रोबेर्ट लेवान्डस्की, थोमस मुलर र ह्यामेस रोड्रिगेजले गोल गर्ने थुप्रै मौका पाए पनि पिएसजीका गोलकिपर अल्फोन्से अरियोलाले उनीहरुलाई रोक्न सफल भएका थिए ।
यस जितसँगै पिएसजीले आफ्नो सिजनको अपराजित यात्रा कायम राखेको छ । समूह बिमा पिएसजीको २ खेलमा ६ अंक छ भने बायर्नको ३ अंक रहेको छ । समूह बिकै अर्को खेलमा एन्डरलेक्टलाई ३-० ले हराएको सेल्टिकको पनि ३ अंक रहेको छ ।