काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र सुदूर पश्चिमाञ्चल राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा पुगेका छन् । योसँगै सुपर लिगको समिकरण पुरा भएको छ । यसअघि बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुपर लिगमा स्थान बनाएका थिए ।
लिग अन्र्तगत बिहिबार भएको खेलमा सुदुर पश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा किरण चौधरीले पहिलो हाफमा गरेको गोल नै सुदुरलाई जिताउन पर्याप्त रह्यो । किरणले सातौं मिनेटमा गोल गर्दै सुदूरलाई दिलाएको अग्रतालाई जोगाउन जोगाउन सफल रह्यो ।
आजकै अर्को खेलमा निर्मला विकेको ह्याट्रिकमा पुलिसले पूर्वाञ्चललाई ५–० ले हरायो र टोली समूहको शीर्षस्थानमा रहँदै सुपर लिगमा पुग्यो । पुलिसका लागि बाँकी २ गोल निरु थापाले गरिन् । पुलिसको जितमा निर्मला विकेले ह्याट्रिक पूरा गरिन् ।
खेलको चौथो मिनेटमा निर्मलाको गोलबाट अग्रता लिएको पुलिसले १५ औं मिनेटमा उनकै गोलबाट अग्रतालाई दोब्बर पारेको थियो । ४२ औं मिनेटमा निर्मलो अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन् । निरुले ७७ औं र खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीको जितअन्तरलाई फराकिलो पारिन् ।
लिग अन्र्तगत शुक्रबार दुई खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएका छन् । पहिलो खेलमा मध्य पश्चिमले पश्चिमाञ्चलको सामना गर्नेछ । दोस्रो खेलमा आर्मी र एपिएफबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।