धनगढी (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब धनगढीमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा शनिबार भएको खेलमा एपीएफले सहारा क्लब पोखरालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफलाई क्वार्टरफाइनलमा पुर्याउन गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट प्रदर्शन गरे ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । एपीएफका अन्जन विष्ट, सुदिप शिखाकार, आदित्य चौधरी, राजु नगरकोटी र रन्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गरे ।
त्यस्तै सहाराका सुसान गुरुङ, विजय श्रेष्ठ, मान बहादुर जिसी र फुर्वा लामाले गोल गर्दा लक्ष्मण जिसीको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । राजु नै खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै १० हजार रुपैंया प्राप्त गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सहाराले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । सहाराका विनोद गुरुङले १८ औं मिनेटमा प्रहार गरेको पेनाल्टी बाहिरिएको थियो । त्यसपछि दुवै टोलीले पाएका मौकाहरुलाई सदुयोग गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
जितपछि एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले आपसी तालमेल नमिल्दा राम्रो खेल्न नसके पनि जितमा खुशी रहेको बताए । ‘हामीलाई मौसमले पनि फेभर गरेन । खेलाडीबीच पनि आपसी तालमेल मिलाउन निकै कठिन भयो ।’ प्रशिक्षक महर्जनले भने, ‘अर्काे खेलमा सुधार आउनेछ ।’ सहाराका प्रशिक्षक किरन गुरुङले पेनाल्टीमा चुक्दा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको बताए ।
प्रतियोगिता अन्तर्गत आइतबार समूह ‘ए’ कै धरान फुटबल क्लब र सिएमजी क्लब संकटाबीच खेल हुनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा एपीएफको सामना गर्नेछ ।
११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौं, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । रुस्लान थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’ मा छन् ।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।