नटिङह्याम (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४-२ ले पराजित हुन पुगेको हो ।
घरेलु टोलीका एरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले एक गोल गर्दै स्कोर २-१ भएको थियो । दोस्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी पाउँदै तिनलाई परिणत गरेको थियो । ७९ औं मिनेटमा ड्यानि वेल्ब्याकले आर्सनलका लागि एक गोल फर्काए पनि सो पर्याप्त हुन सकेन ।
यस पराजयसँग एफए कप सर्वाधिक १३ पटक जितेको आर्सनल तेस्रो चरणबाटै बाहिरियो । त्यस्तै अर्को बलियो टोली टोटनह्याम भने सहज जितका साथ चौथो चरणमा प्रवेश गरेको छ ।
टोटनह्यामले एएफसी विम्बल्डनलाई ३-० ले पराजित गरेको हो । टोटनह्यामको जितमा मुख्य स्ट्राइकर ह्यारी केनले दुई गोल गरे । त्यस्तै डिफेन्डर जान भर्टोन्गेनले पनि टोलीका लागि एक गोल गरेका थिए ।