धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
खेलको ४ गोल नै पहिलो हाफमा भयो । रोमाञ्चक पहिलो हाफको ३४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै स्टारलाई अग्रता दिलाए भने बुद्धले ५ मिनेट पछि ३९ औं मिनेटमा थ्री स्टारको अग्रता दोब्बर गरे । कर्णले ४१ औं मिनेटमा १ गोल फर्काउँदै झापालाई खेलमा फर्काएपनि बुद्धले पहिलो हाफको अन्त्यअघि पुन: गोल गरे । उनलको ४३ औं मिनेटको बक्सको बाँयाबाटको प्रहारले झापाको गोल किपर किशोर गिरीलाई बिट गरेको थियो ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका खेर फाल्दा थ्री स्टारले खेल ३–१ ले आफ्नो पक्षमा पार्यो । झापाविरुद्ध २ गोल गरेका बुद्ध चेम्जोङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले व्यक्तिगत १० हजार रुपैया प्राप्त गरे ।
जितसँगै थ्री स्टार प्रतियोगिताको क्वार्टरफाइनलमका प्रवेश गरेको छ । थ्री स्टारसँगको हारसँगै झापा भने प्रतियोगिताको पहलिो खेलबाटै बाहिरिएको छ । थ्री स्टारले अब सेमिफाइनल प्रवेशको लागि उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबसँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘बी’ कै ड्रक स्टार भुटान र अग्नि रुपेन्देही–११ बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।