धरान (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले लगातार दोस्रो साता नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने सम्भावना छ । तर, त्यसका लागि थ्री स्टारले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतीय क्लबको चुनौति पन्छाउनु पर्ने हुन्छ ।
धरान रंगशालामा थ्री स्टारले बिहीबार कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्दैछ । शनिबार हुने फाइनलका लागि पुलिसले भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।
पुलिस र थ्री स्टारले गत शनिबार पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए । जहाँ पुलिस १–० ले विजयी भएको थियो । त्यहाँबाट दुवै टोली धरान यात्रामा निस्केका थिए । धरानमा पुलिसले पहिलो खेलमा काकरभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थियो ।
थ्री स्टारले सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै दुर्गापुरसँगको सेमिफाइनल भेट पक्का गरेको थियो । दुर्गापुर आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै अघि बढेको थियो । डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टारको यो चौथो प्रतियोगिताका हो ।
पहिलो प्रतियोगिताका रुपमा रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनल खेलेको थ्री स्टार अर्को साता मदन स्मृति इटहरी गोल्ड कपको च्याम्पियन बनेको थिए । त्यसको एकसातामा टोलीले आहा गोल्ड कपको फाइनल पुगेको थियो । आज भारतीय क्लबलाई हराउन सके थ्री स्टार लगातार तेस्रो साता तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुग्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।