दिपेश तिमल्सिना
काठमाडौं – सामान्यतया नेपाली खेलाडी गम्भिर घाइते भएपछि सोहि लयमा फर्किएको इतिहास निकै कम छ । घाइते भएपछि र लामो समय पछि खेलमा फर्केका खेलाडीको मनोबल निकै गिरेको भेटिन्छ तर, राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामाको हकमा भने त्यो क्रम नदोहोरिनेमा उनको शल्यक्रिया गरेका वरिष्ठ चिकित्सक चक्रराज पाण्डे र स्वयम् विक्रम आत्मविश्वाशी देखिएका छन् ।
आइतबार हाम्रो खेलकुद टिमको टोली उपचार भैरहेको टोखास्थित ग्राण्डी अस्पताल पुग्दा विक्रममा आत्मबलको कमी देखिएन । उनी वेड रेष्ट बाहेक साधारण व्यक्ति जस्तै गरी निराश नभई पत्रकार सँग खुलेर कुराकानी गर्न थाले । शनिबार बुढा सुब्बा गोल्डकपको फाइनल दौरान विपक्षी टिमका खेलाडीको कठोर ट्याकलमा परेर नली खुट्टा भाचिएपछि उनलाई तत्कालै थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो । ग्राण्डी अस्पतालमा आइतबार बिहान विक्रमको सफल शल्यक्रिया भैसकेको छ । हाम्रो खेलकुदसँगको कुराकानीमा विक्रमले आठ महिनै लागेपनि फुटबलमा फर्कने बताए ।
‘खेलाडी हो कहिलेकाँही तलमाथि भैहाल्छ, इन्जुरी भएर इम्पोसिबल्ली कमब्याक गर्न नसक्ने भन्ने हुदैन ’ थ्री स्टारका कप्तान समेत रहेका विक्रमले भने, ‘अझै पनि समय छ, केही गर्ने इच्छा छ । आठै महिना लागोस म पूर्ण रुपमा ठीक भएर फुटबलमा फर्कनेछु ।’ गेम प्रतिस्पर्धात्मक भैरहेको थियो, हामीले बढीभन्दा बढी प्रेसर दिन शुरु थालिसकेका थियौं उनीहरुको इन्टेन्सन बिग्रिसकेको र रिसाउन थालिसकेको थिए । त्यसै क्रममा २६ औं मिनेटमा दुई तीन जनाबाट बल डिफ्लेक्ट भएर आएको बललाई क्लियर गरिसकेपछि विपक्षी खेलाडीले हाने या थापे लागेको मात्र याद रहेको शनिबारको घट्नालाई सम्झदै विक्रमले भने। पछि थ्री स्टारका फिजियो आविस्कार पुडासैनीले आएर हौसला दिदै अस्पताल पुर्याएको याद रहेको बताउँछन् ।
यस्तै विक्रमले बल क्लियर भैसकेको र रेफ्रीले सिठ्ठी फुकिसकेको अवस्थामा हानिहाल्नु नपर्ने बताए । ‘जे नहुनु थियो त्यो भैसेको थियो । शुरुमा साह्रै नरमाइलो लागेको थियो , उनले भने, ‘ पछि थ्री स्टार क्लबका सदस्यहरु, ‘वि आर स्टार’का भाईहरुको माया र हौसला अनि यहाँ आइसकेपछि डक्टरसँगको कन्सल्ट र अप्रेसन पछि ठिकै लागेको छ ।’
वरिष्ठ चिकित्सक पाण्डे विक्रमको शल्यक्रिया अत्याधुनिक अमेरिकन प्रबिधि अनुसार गरिएकोले पछि खेलाडीलाई चोटले कुनै असर नगर्ने बताउँछन्। उनि भन्छन्,’ समयमै गरिएको गुणस्तरीय शल्यक्रियाका कारण उहाँ अहिले खतरा मुक्त हुन्छन् , विक्रम ३ महिनामा सामान्य मानिस जस्तै हिडडुल गर्न सक्नेछन् भने ६ महिनामा मैदानमा देखा पर्न सक्नेछन् ।’
भिडियोमा हेर्नुहोस :