दिपेश तिमल्सिना
सिमरा – रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सर्वाधिक सफल टोली हो । यसअघि आठ संस्करणमा दुई पटक उपाधि जित्ने मनाङ एक्लो टोली हो । तर, लगातारको प्रतियोगिता खेल्दा खेलाडी घाइते भएको भन्दै मनाङले यसपटक भाग लिएन ।
नवजनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै गोल्ड कप हो । मनाङले नखेले पनि यसपटकको फाइनलमा अन्य दुई ए डिभिजन क्लबबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग फाइनल खेल्दैछ । थ्री स्टार पहिलो पटक सिमरामा फाइनल खेल्दैछ ।
थ्री स्टार झन्डै डेढ वर्षपछि फुटबलमा फर्कदा कस्तो दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो थियो । धनगढीमा माघको पहिलो साता सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरामगन गरेपछि त्यहाँ दोस्रो खेल आर्मीसँग २(१ ले पराजित भएको थियो । त्यसपछि थ्री स्टारले माघ १३ गते मनाङलाई हराउँदै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जित्दै पुरानै लयमा फर्कने संकेत गरेको थियो ।
त्यस पछि खेलेको दुई प्रतियोगिता आहा रारा गोल्डकप (माघ २० गते) मा उपविजेता र बुढा सुब्बा गोल्डकप (माघ २७) मा विजेता बन्न सफल भएको थियो। पुनरागमनपछि पहिलो उपाधिका रुपमा इटहरी गोल्ड कप जित्ने क्रममा थ्री स्टारले आर्मीलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएको थियो । पछिल्ला दुई नकआउट आहा रारा र बुढासुब्बामा पुलिसको सामना गर्नेको थ्री स्टारले सिमरामा अर्को विभागिय टोली आर्मीको सामना गर्दैछ । इटहरी पछि यी दुई टोलीबीच पहिलो पटक भेट हुँदैछ ।
गत वर्ष पहिलो चरण पार गरेरपछि एन्फाको गल्तिका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन । त्यसकै विरोधमा क्षतिपूर्ति नपाउँदा सम्म एन्फाले आयोजना गर्ने र स्वीकृति दिएका कुनै प्रतियोगिता भाग नलिने कठोर निर्णय गरेको थियो । एन्फाको पछिल्लो साधारण सभाले १ करोड ५० लाख रुपैयाँ क्षेतीपूर्ति दिने निर्णय गरेपछि थ्री स्टार घरेलु फुटबलमा फर्केको थियो ।
थ्रीस्टारका अग्रपङ्तिका दुई खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन् । यसअघि कप्तान विक्रम लामा बुढासुब्बाको फाइनल खेल्दा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रीस्टारको कप्तानी सम्हालिरहेका छन् ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले फाइनलमा अर्को कुन टोली छ भन्नेलाई खासै महत्व नदिने दोहोराएका छन् । ‘हामीलाई फाइनलमा जो सुकै होस् खास फरक पर्दैन हामी जितेका लागि खेल्नेछौं’, उनले भने, ‘निरन्तर मोफसलको प्रतियोगिता खेलिरहदाँ खेलाडीहरुमा थकान रहेको छ तर बेन्चका खेलाडीहरु उत्कृष्ट रहेको र त्यसकारण टिमको प्रदर्शनमा कुनै समस्या आउँदैन । आर्मीका पूर्व प्रशिक्षक रहेका केसी दुवै क्लबको स्तर बराबर रहेको र जसले बढी मेहनत गर्न सक्यो उसले जित्ने बताउछन् ।
थ्री स्टारका कप्तान निराजन खड्का लगातार उपाधिको दौडमा रहँदा खेलाडीहरुमा सकारात्मक सोच रहेका बताए । पछिल्ला डेढ वर्ष थ्री स्टारले नखेले पनि अन्य क्लबबाट आर्मीविरुद्ध खेलेको अनुभव सुनाउँदै उनले भने, ‘आर्मीको टिम अहिले उच्च फर्ममा छ । तर खेलाडीहरुको सकारात्मक सोच र राम्रो खेल खेल्दै हामी उपाधी आफ्नो पक्षमा पार्ने छौ।’
पछिल्ला वर्षमा अधिकांश नकआउट फुटबलमा दाबेदार रहेकोको आर्मी यस बर्ष मोफसलका प्रतियोगितामा सर्वाधिक सफल क्लब हो । यस सिजन ८ प्रतियोगिता खेल्ने क्रममा ४ नकआउटको उपाधि जितेको थियो । बैशाखमा बीरगंजमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुस महिना झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो । त्यसयता भने टोलीको उपाधि जित्ने क्रममा ब्रेक लागेको छ ।
आर्मीमा विभिन्न युवा समुह र राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको छ । यद्दपी आर्मीले खप्तड पछि खेलेको दुई प्रतियोगिता मदन भण्डारी स्मृति इटहरी गोल्ड कप र पोखरामा आयोजित आहा रारा गोल्डकपमा सुखद् नतिजा हात पार्न सकेन । २०७१ सालमा विजेता बने यता आर्मीी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । आर्मीका रक्षक जितेन्द्र कार्की घाइते भएका छन् भने रातो कार्डका कारण सेमिफाइनल खेल गुमाएका नवयुग श्रेष्ठ फाइनलमा खेलमा फर्किने छन् ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०/५० हुने बताउँछन् । न्यौपाने भन्छन,’जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ । लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गएको हो । अहिले राम्रो फर्ममा फर्किएको छ ।’आर्मीका कप्तान भारत खवासले पछिल्लो खेलहरु ठुलो स्कोरले जित्दा मनोबल उच्च रहेको बताए । आफूहरु नतिजाको लागि खेल्न तयार रहेको जनाउँदै उत्कृष्ट खेलकै आधारमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । खवासले भने, ‘हामी प्रतियोगिता जित्न भनेर आएको र जित्छुु नै भनेर खेल्ने हो ।’
एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा बीरगंज युनाइटेडलाई ३–० ले हराएको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मोरङ्लाई ४–२ ले हराएको थियो । सिमरा गोल्ड कपमा यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल नखाएका आर्मीका गोलकिपर बिकेश कुथुको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । मोरङ् ११ का कर्ण लिम्बु, थ्रीस्टारका सुनिल बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २-२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा आगाडी छन् ।
आर्मीले सिमरा गोल्डकप जिते टोलीको त्यो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्री स्टारले जित्न सके वर्षको दोस्रो सफल टोली बन्नेछ ।
यस सिजनको हेड टु हेड
सुदूरपश्चिम खप्तड गोल्डकप: क्वार्टरफाइनल थ्रीस्टार १-२ आर्मी
इटहरी गोल्डकप: सेमिफाइनल निर्धारित समय १–१, टाईब्रेकर: थ्रीस्टार ५-३ आर्मी
सिमरा गोल्ड कपका विजेता क्लबहरु:
२०७४ थ्री स्टार वा त्रिभुवन आर्मी ?
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब
२०६९ मनाङ् मर्स्याङ्दी क्लब
२०६८ मनाङ् मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब