काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारहरु उदय हुने मौका पाए । तर केही त्यस्ता पनि स्टार खेलाडीहरु छन् जो आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकेनन् । विश्वकप २०१८ मा ‘फ्लप’ भएका ३ ठूला नामहरु यी हुन्:
३. डेभिड डे गेया
म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा स्थापित गरेको थियो । तर, विश्वकपमा गरेको खराब प्रदर्शनपछि फुटबल समर्थक र विश्लेषकहरु पनि उनीबाट निराश भएका छन् । पोर्चुगल विरुद्ध गरेको गल्तीका कारण स्पेनले ३ अंक लिने मौका गुमायो भने अन्य ३ खेलमा पनि उनको प्रदर्शन सामान्य भन्दा निकै तल थियो । सबै ४ खेलमा उनले केवल १ बचाऊ गरे जुन उनको स्तरका लागि अचम्मको तथ्यांक हो ।
२. रोबर्ट लेवान्डोस्की
विश्वकप छनोटमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए । छनोटमा गरेको १६ गोलका कारण उनी विश्वकपमा पनि गोल्डेन बुटको दाबेदार रहेको बुझिएको थियो । तर पोल्यान्डको अग्रपंक्तिमा उनको प्रदर्शन निकै खराब थियो । उनले १ गोल वा असिस्ट पनि दर्ता गर्न सकेनन् र पोल्यान्ड समूह ‘एच’ को अन्तिममा रहन पुग्यो । २९ वर्षे बायर्न म्युनिख स्ट्राइकर लेवान्डोस्कीका लागि व्यक्तिगत रुपमा यो महत्त्वपूर्ण प्रतियोगिता थियो तर उनी ‘फ्लप’ हुन पुगे ।
१. थोमस मुलर
थोमस मुलर जर्मनीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहंदै आएका छन् । २०१० र २०१४ को विश्वकपमा ५-५ गोल गरेका मुलरबाट उस्तै प्रदर्शनको अपेक्षा गरिएको थियो । २०१७-१८ बुन्डेस लिगामा उनले सर्वाधिक असिस्ट दर्ता गर्दै विश्वकपका लागि आफू तयार रहेको पुष्टी गरेका पनि थिए । तर जर्मनीको खराब यात्रामा उनले १ गोल वा असिस्ट पनि गर्न सकेनन् । मेक्सिको र दक्षिण कोरियासंग पराजित हुंदै जर्मनी आश्चर्यजनक तरिकाले समूह चरणबाट बाहिरियो । मुलरले आफ्नो प्रतिभा र स्तरअनुरुप प्रदर्शन गर्न नसक्नु विभिन्न कारणहरुमध्ये एक पनि थिए ।
(एजेन्सीको सहयोगमा)