काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलको सफल क्लबमध्येको एक मनाङ मस्र्याङ्दी क्लबलाई प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले मुख्य प्रायोजन गरेको छ । मनाङ र सिग्नेचरबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङ र नेपाल लिक्वर्स प्रा लिगका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रायोजन वापत सिग्नेचरले मनाङलाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
अब क्लबको नाम सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब रहनेछ । क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदा सिग्नेचर अंकित जर्सीको प्रयोग गर्ने बताइएको छ ।
सर्वाधिक ६ पटक लिग जितेको मनाङले यसअघि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका नामबाट लामो समय राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । मनाङ सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता हो । उपाधि रक्षाका लागि मनाङले यसपटकको लिगको आफ्नो पहिलो खेल शुक्रबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ ।