काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ ।
खेलको सुरुवातमै मनाङले प्रकाश बुढाथोकीलाई गुमाएको थियो । मिडफिल्डमा बल बढाउने क्रममा प्रकाशलाई एनअारटीका खेलाडीले लडाउँदा ल्यान्डिङ गर्ने क्रममा काँधमा चोट लागेको थियो । लगत्तै अोलावाले अाफिज पनि तिघ्रामा चोट लागेर केहि समय बाहिर रहेर भित्र पसे ।
मनाङले १७ अौं मिनेटमा अग्रता लियो । पेनाल्टी क्षेत्रमा अन्जन विष्टलाई मसुदले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन अाफैंले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा ५ मिनेट बाँकी रहँदा अोलावाले अाफिजले अग्रता दोब्बर पारे । उनले डिफेन्सलाई बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे । पहिलो हाफको अन्त्यतिर मिनेटमा विमल राना मगरले अन्जनको क्रसमा गरेको हेडर पोस्टमा लागेर फर्केको थियो ।
दोस्रो हाफमा पनि मनाङले अाक्रमक खेल जारी राख्यो । अाडिलेजे सोमिडेले दोस्रो हाफको मध्यतिर गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेनन् । अशोक थापामगरले फ्रिकिकमा गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डोना थापाले अन्तिम मिनेटमा खाली पोस्टमा पेनाल्टी क्षेत्र बाहिरबाट बललाई पोस्टको दिशा दिन सकेनन् ।
लगातार दोस्रो जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । एनअारटी भने १ अंकसहित मध्य तालिकामा छ ।