एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राती भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ । खेलको सुरुवाती समयमै फरवार्ड नेयमार भने चोट बोक्दै बाहिरीए ।
खेलको आठौं मिनेटमा नै ब्राजिलका कप्तान समेत रहेका नेयमार तिघ्राको चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरे भने मार्किन्होसले कप्तानको जिम्मेवारी लिएका थिए । उनलाई लगत्तै ब्राजिलको मेडिकल टोलीले परिक्षण गरेपनि अन्य स्क्यानपछि मात्र चोटको गम्भीरता बारे थाहा हुने बताइएको छ ।
ब्राजिलका लागि खेलको एक मात्र गोल वैकल्पिक खेलाडी रिचार्लीसनले नै गरे । उनले पहिलो हाफको अन्तिम समयमा गरेको हेडर गोल निर्णायक सावित भयो । दोस्रो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रिएल जेससले गरेको प्रहार पोस्टमा लागेको थियो । बार्सिलोनाका मिडफिल्डर आर्थरले पनि लामो दुरीको प्राहर क्रसबारमा लाग्यो ।
ब्राजिलले जित दर्ता गरेपनि नेयमारको चोट नै खेलको मुख्य पाटो बन्यो । ब्राजिलका टिम डाक्टर रोद्रिगो लास्मारले प्रारम्भिक परिक्षणले उनको चोट गम्भीर नरहेको बताए । ‘ उनको दायाँ तिघ्रामा केहि समस्या देखिएको छ । उनले कठिनाइ महसुस गर्ने बितिकै हामीले ड्रेसिङ रुममा केहि परिक्षण गर्यौं । प्रारम्भिक रुपमा हेर्दा गम्भीर छैन तर केहि स्क्यान गरेपछि विस्तृत थाहा हुनेछ,’ उनले भने ।
ब्राजिलले चार दिन अघि उरुग्वेलाई १-० ले हराउँदा नेयमारले पुरै ९० मिनेट खेलेका थिए । त्यस खेलमा उनले नै पेनाल्टी गोल गरेका थिए । नेयमारको चोट गम्भीर भएको अवस्थामा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो घाटा हुनेछ । पीएसजीले अर्को साता च्याम्पियन्स लिगमा लिभरपुलसँग खेल्दैछ । लिगमा भने यसै साता पीएसजीले टुलुजको सामना गर्नेछ ।
च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेको पीएसजीलाई अब बाँकी खेलमा अनुकुल नतिजा ल्याउनैपर्ने दबाब रहेको छ । अब बाँकी रहेको खेलमा पीएसजीले लिभरपुल र त्यसपछि रेड स्टार बेलग्रेडको सामना गर्नेछ । लिभरपुलसँग पराजित भएमा अर्को चरण पुग्ने सम्भावना निकै कम हुनेछ ।
नेयमारले यसअघि नै पीएसजीको अबको मुख्य लक्ष्य च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्नु नै रहेको बताएका थिए । तर अब लिभरपुलसँगको महत्त्वपूर्ण खेलमा उनको उपस्थिति नहुँदा टोलीलाई निकै असर पर्नेछ ।