काठमाडौं (हाम्रो खेलकुद)– टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको मनोनयमा परेका छन् । यो अवार्ड माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम हो ।
उनीसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरा मनोनयमा परेका छन् । किरण लगातार दोस्रो वर्ष उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका हुन् । गत सिजन उनी उत्कृष्ट गोलकिपरसँगै उत्कृष्ट विदेशी खेलाडीको मनोनयमा समेत परेका थिए ।
किरणको टोली ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिएका थिए । करणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए ।
उनले जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई-लिग उपाधि पनि जितेका थिए ।
नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोट्र्सबाटै दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए ।
किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मनोनयनमा परेका तीन गोलरक्षकमध्य किरणको प्रतिस्पर्धा माल्दिभ्सको राष्ट्रिय टोलीमा समेत पहिलो रोजाईमा रहेका मोहमद फेजलसँग हुनेछ । माल्दिभ्सले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप उपाधि जित्दा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । माल्दिभ्सले भारतलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।