एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र टोटेनहम हट्सपरबीचको खेल १-१ को बराबरीमा सकियो । बराबरी नतिजासँगै बार्सिलोना समूह विजेता र टोटेनहम उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्यो ।
टोटेनहमले क्लबको आधुनिक इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दा दुर्लभ कीर्तिमान पनि रच्न सक्यो । च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न टोटेनहमलाई निकै कठिन समीकरणमा नतिजा हात पार्नुपर्ने थियो । इन्टर मिलानलाई पीएसभीले बराबरीमा रोकेपछि टोटेनहम अन्तिम १६ मा प्रवेश गरेको थियो । बार्सिलोनाले खेलमा अग्रता लिनका बाबजुद जित दर्ता गर्न सकेन । सँगसँगै खेलमा बार्सिलोना बल पोसेसनमा पनि पछाडी पर्यो ।
सन् २००६ डिसेम्बर यता बार्सिलोनाले पहिलो पटक च्याम्पियन्स लिगमा विपक्षी टोलीभन्दा कम बल पोसेसन राखेको थियो । त्यसबेला समूह चरणको खेलमा वेर्डर ब्रेमनविरुद्ध ४२ प्रतिशत बल पोसेसन राखेको थियो । मंगलबार भएको बराबरीमा बार्सिलोनाले ४८ प्रतिशत बल पोसेसन मात्र राख्न सकेको थियो ।
बार्सिलोनाले टोटेनहमविरुद्ध सुरुवाती रोजाईमा इभान राकीटिच, कार्लेस एलेना र आर्थरलाई उतारेको थियो । पहिलो पटक सँगै खेलिरहेका तीन मिडफिल्ड खेलाडीबीचको तालमेल नमिल्दा बार्सिलोनाले खेलमा पकड बनाउन सकेन । बार्सिलोनाले अधिकांश खेलमा बल पोसेसनमा बलियो पकड बनाउने गर्छ । पछिल्लो समय लिगमा अलाभेसविरुद्ध ७८.३ प्रतिशत र भ्यालेन्सियाविरुद्ध ७६ प्रतिशत बल पोसेसन बार्सिलोनाको पकडमा थियो ।
बल पोसेसनमा पकड बनाउनु बार्सिलोनाको परिचय नै बनेको छ । बार्सिलोनाले लामो समयदेखि यसैमा आधारित रहेर सफलता पनि हात पारेको छ । लिओनेल मेसीको खेल शैली पनि यस्तै रहेकाले उनले व्यक्तिगत रुपमा पनि सफलता हात पारेका छन् ।