लन्डन (एजेन्सी) – इंग्लिस क्लब आर्सनलले युइएफए युरोपा लिग फुटबलमा अजरबैजानको कारावाग एफसीमाथि १–० को कठिन जित निकालेको छ । एलेक्जेन्डर लाकाजेटको एकमात्र गोलमा आर्सनलले कारावागमाथि झिनो जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा बिहिबार राति भएको खेलमा लाकाजेटले खेलको १६औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले मेसुट ओजिलको पासमा गोल गरेका थिए । दुवै टोलीले केही प्रयास गरेपनि त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यससँगै आर्सनलले युरोपा लिग फुटबलको समूह चरणमा अपराजित रहँदै समूह ‘ई’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । कारावाग ३ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा स्पोर्टिङ लिस्वनले भोर्सकालाई ३–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । स्पोर्टिङको जितमा फ्रेड मोन्टेरो र मिगुइल लुइसले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
स्पोर्टिङले ६ खेलबाट १३ अंक जोड्यो । भोर्सक्ला ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।