म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका उपकप्तान मार्सेलोले टोलीले क्रिस्टियानो रानोल्डोलाई ‘मिस’ गरेको बताएका छन् । लामो समयपछि अलग हुनु पर्दा यसरी मिस हुनुलाई उनले स्वभाविक मानेका छन् ।
नौ वर्ष रियलमा क्लब स्तरको सम्भव सबै उपाधि जितेका रोनाल्डो त्यसपछि यो सिजनको सुरुवातमा युभेन्ट्स पुगेका थिए । रोनाल्डोले क्लब छोडेसँगै रियलको प्रदर्शन पनि सन्तोषजनक रहन सकेको छैन । जुलेन लोपेटेगुइको प्रशिक्षणमा रियलले कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो ।
त्यसपछि सान्टियागो सोलारीलाई प्रशिक्षकका रुपमा नेतृत्व गर्दा क्लबले प्रदर्शनमा सुधार गरिरहेको छ । यद्दपी स्पेनिस ला लिगामा रियल शीर्षस्थानको बार्सिलोना भन्दा ५ अंकले पछाडि छ । अर्कोतर्फ रोनाल्डोले भने सिरि ‘ए’ मा उच्च प्रदर्शन गरिरहेका छन् ।
उनले लिगका १५ खेलमा १० गोल गरेको थियो । लगातार तीन पटक रियललाई सँगै च्याम्पियन्स लिग उपाधि दिलाएका मार्सेलोले टोलीका कीर्तिमानी रोनाल्डोलाई सबैले सम्झनु स्वभाविक भएको पनि उल्लेख गरे ।
‘ उनी सधै हाम्रो सहकर्मी र साथीका रुपमा रहे । उनी सर्जियो रामोस र लुका मोड्रिचसँग पनि उत्तिकै मिल्थे,’ ब्राजिलियन मार्सेलोले भने,‘ संसारकै उत्कृष्ट खेलाडी आफ्नो टोलीमा नरहेपछि उनलाई मिस गर्नु स्वभाविक हो । तर, हरेक पोजिसनमा उत्कृष्ट खेलाडी हामीसँग छैनन् । जुनै टोली पनि रोनाल्डोलाई आफ्नो टोलीमा रहेको हेर्न चाहन्छ । रियल जहिले रियल रहन्छ , खेलाडी आउने जाने चलिरहन्छ ।’
यहि साता च्याम्पियन्स लिगमा रियल सिएसकेए मस्कोसँग ३–० ले पराजित भएको थियो । टोलीले शनिबार ला लिगामा रायो भालेकानोको सामना गर्दैछ ।