अबुधाबी (एजेन्सी)– ग्यारेथ बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । पहिलो हाफको अन्त्यतिर पहिलो गोल गरेका वेल्सका फरवार्डले दोस्रो हाफ सुरु भएको केहि समयमा नै ह्याट्रिक पुरा गरेका थिए ।
योसँगै क्लब विश्व कपका तीन अलग संस्करणमा गोल गर्ने २९ वर्षे बेल तेस्रो खेलाडी बनेका छन् । उनले यसअघि सन् २०१४ र २०१७ मा पनि गोल गरेका थिए ।
योसँगै उनले रियलका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग तीन संस्करणमा गोल गर्ने कीर्तिमानीको बराबरी गरेका छन् ।
३३ वर्षे सुपरस्टार रोनाल्डोले२००८ मा युनाइटेडका लागि त्यसपछि २०१६ र २०१७ मा रियलका लागि गोल गरेका थिए । त्यस्तै अर्का सुपरस्टार बार्सिलोनाका मेसीले २००९, २०११ र २०१५ मा क्लब विश्व कपमा गोल गरेका थिए ।
क्लब विश्व कपमा ह्याट्रिक गर्ने पनि बेल तेस्रो खेलाडी बनेका छन् । यसअघि रोनाल्डो र बार्सिलोनाका लुइस स्वारेजले ह्याट्रिक गरेका थिए । क्लब विश्व कपमा बेलको ५ खेलमा ६ गोल पुगेको छ ।
उनी उच्च गोलकर्तामा रोनाल्डो भन्दा १ गोलले मात्र पछि छन् । युभेन्ट्सका रोनाल्डोको नामा ७ गोल छ । रियल समग्रमा चौथो र लगातार तेस्रो पटक क्लब विश्व कप जित्ने अभियानमा रहेको छ ।