एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ ।
शनिबार राति एट्लेटिको मड्रिडले इस्पान्योललाई १–० ले पराजित गरेको दिन बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले पराजित गर्दै ला लिगामा ३ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । बार्ससाले रियलसँग भने ८ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन औसमाने डेम्वेले र कप्तान लियोनेल मेस्सीले गोल गरे । खेलको १०औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । ४४औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।
त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना २–० को जित निकाल्न सफल भयो । जितपछि बार्सिलोनाको १७ खेलबाट ३७ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । एट्लेटिको मड्रिडको समान खेलबाटै ३४ अंक छ । पराजित सेल्टा डि भिगो २१ अंक जोडेर १०औं स्थानमा छ ।
शनिबारै राति भएको खेलमा एन्टोइन ग्रिजम्यानको पेनाल्टी गोलमा एट्लेटिकोले इस्पान्योललाई १–० ले पराजित गरेको छ ।