टोरिनो (एजेन्सी) – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई १–० ले पराजित गर्दै युभेन्टसले सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई १७औं खेलसम्म लब्म्याएको छ । यसक्रममा युभेन्टसले १६ खेलमा जित हात पार्दा एक खेलमा बराबरीको नतिजा निकालेको छ ।
घरेलु मैदान एलिआन्ज स्टेडियममा शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन मारियो म्यान्जुकिचले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । म्यान्जुकिचले ३५औं मिनेटमा गोल गरेका थिए ।
जितपछि युभेन्टसले १७ खेलबाट ४९ अंक जोडेको छ । उसले दोस्रो स्थानको नेपोलीसँग ८ अंकको अग्रता बनाएको छ ।