काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीलाई नियमित खेल समय दिनुपर्नेमा जोड दिएका छन् । गत महिना ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका किरणले फुटबल विकासका लागि राष्ट्रिय टोलीको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका हुन् ।
माल्दिभ्सको लिग सकिएपछि नेपाल फर्किएका किरण अहिले छुट्टीमा छन् । तर उनी हरेक दिन व्यक्तिगत रुपमा नै फिटनेस उच्च स्तरमा राख्न एन्फा कम्प्लेक्समा भेटिन्छन् । उनले राष्ट्रिय टोलीको स्तर सुधार्न नियमित रुपमा मैत्रीपूर्ण खेल राख्नुपर्ने बताए । ‘हामीले आफ्नो तर्फबाट सक्दो मिहिनेत गरेका छौं । एन्फाले नियमित रुपमा राष्ट्रिय टोलीलाई खेलाउनु पर्छ । एक-दुई महिनाको अन्तरमा मैत्रीपूर्ण खेलमा सहभागी हुँदा प्रदर्शन सुधार्न पनि सजिलो हुन्छ,’ गोलरक्षक किरणले भने ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै बाहिरिएको थियो । त्यसबेला माल्दिभ्सको लिग मध्य चरणमा रोकिएको थियो । किरणले माल्दिभ्सभन्दा नेपाल राम्रो भएपनि दुर्भाग्यवश हार्नु पर्दा निकै दुख लागेको बताए । ‘ हामीले सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै बाहिरिन पुग्यौं । निकै दुख लागेको थियो । हामी उपाधिको लागि हकदार नै थियौं । समूह चरणमा राम्रो प्रदर्शन गर्दै विजेताको रुपमा सेमिफाइनल पुगेपनि हाम्रो यात्रा अगाडी बढेन,’ उनले थपे, ‘ हामीले अपेक्षित प्रदर्शन गर्न नसक्दा ३-० को लज्जास्पद हार बेहोर्न बाध्य भयौं । त्यो दुखलाई भुलाउन मैले निकै मिहिनेत गरेर लिग उपाधि दिलाउन सकें ।’
किरणले नेपालमा अहिले भइरहेको लिग व्यवसायिक रुपमा सबल नभएकाले पनि सुधार आवश्यक रहेको बताए । ‘ नेपालमा अहिले भइरहेको लिग कमजोर छ । दर्शकहरुको चाप शुन्य छ भने खेलाडीको स्तर पनि खासै राम्रो देख्दिन । धेरै लामो समयपछि लिग भएकाले यस्तो समस्या भएको हुनसक्छ । हामीले लिगलाई व्यवसायिक बनाउँदै लगेमात्र सुधार गर्न सकिनेछ,’ उनले थपे ।
किरणले आफ्ना समर्थकलाई पनि निरन्तर सहयोगको लागि धन्यवाद दिए । उनले दर्शकहरुको साथ र सहयोग निरन्तर रुपमा पाइराख्ने आशा पनि व्यक्त गरे ।
भिडियो हेर्नुहोस्: