एजेन्सी – एटलेटिको म्याड्रिडको एकेडेमीबाट खेल्दै सिनियर टोलीमा आएका मिडफिल्डर थोमस पार्टेले आफू क्लबमा खुसी नरहेको बताएका छन् ।
सन् २०११ मा क्लबसँग आबद्ध हुँदै अहिले टोलीको मुख्य हिस्सा बनेका २५ वर्षीय पार्टेले प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि देखाएका हुन् । स्पेनिस संचारमाध्यमसँग बोल्दै पार्टेले आफ्नो अवस्थाबारे खुलेर बोलेका छन् ।
‘ म एटलेटिकोमा कहिलेकाहिँ निकै दुख महसुस गर्छु । मेरो प्रदर्शन राम्रो हुँदाहुँदै पनि मुख्य खेलहरुमा मलाई मौका दिइएको छैन । जब यस्तो खेलले मलाई झनै बलियो र आत्मविश्वाशी बनाउन सहयोग पुग्ने हुन्छ, मलाई नखेलाउँदा झनै गाह्रो हुन्छ,’ उनले भने ।
पार्टेले प्रशिक्षक सिमिओनीले खेल्ने समय नदिँदा आफ्नो करिअरमा नै असर पुगेको बताए । उनले राम्रो प्रदर्शन गर्नका बाबजुद पनि टोलीमा नपर्दा आफ्नो प्रदर्शनलाई निरन्तरता दिन पनि कठिन हुने बताए । लिगको १४ खेलमा सहभागिता जनाएका पार्टेले त्यसमध्य आधा खेलमा मात्र सुरुवाती रोजाइमा परेका छन् ।
एटलेटिको ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा छ । शीर्षस्थानको बार्सिलोनाभन्दा ३ अंकले पछाडी रहेको एटलेटिकोले १७ खेलमा ३४ अंक जोडेको छ । च्याम्पियन्स लिगमा भने अन्तिम १६ मा स्थान बनाएको एटलेटिकोले युभेन्ट्सको सामना गर्नेछ । एटलेटिको समूह उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।