काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ । शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेड ब्वाइजका लागि रितिक खड्काको पासमा काजिम बुसारीको प्रहार पोष्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा शिशिर लेखीको क्रसमा काजिम बुसारी र ताजुदिन बुसारीभेट्न सकेन । २३औं मिनेटमा रितिक खड्काको बक्स बाहिरको प्रहार पोस्टबाट थोरै बाहिरियो । ४०औं मिनेटमा कर्ण लिम्बूको प्रहार बीबीसीका गोलरक्षक सागर रायले फुस्काएपनि पुन गल्ती गरेनन् ।
दोसोर हाफको ४६औं मिनेटमा शेर्पाका ड्याडी जुनियर वाम्वाले शेर्पालाई सुरुवाती अग्रता दिलाए । ५१औं मिनेटमा शेर्पाका भिषण गुरुङको पेनाल्टी क्षेत्रबाहिरको फितलो प्रहार सिधै गोलमा परिणत भयो । गोलरक्षक सागर रायको कमजोर गोलरक्षणमा गोल सम्भव भएको थियो ।
६२औं मिनेटमा शेर्पाका लागि विश्वास श्रेष्ठले तेस्रो गोल गरे । फरवार्ड कर्ण लिम्बूले डिफेन्डरबाट खोसेर दिएको पासमा विश्वासले सहजै गोल गरे । खेलको १० मिनेट समय बाँकी रहँदा शेर्पाका गोहा प्याट्रिक प्रिभटको पासमा विश्वास श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे । ८७औं मिनेटमा बीबीसीका अनिल राईको पासमा वर्तमान राईले सान्तवना गोल गरे ।
यस जितसँगै शेर्पाको ११ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक भएको छ । ब्रिगेड ब्वाइज ११ खेलमा १ जित र ३ बराबरीसँगै ६ अंकसहित अन्तिम ३ मै अड्केको छ ।