एजेन्सी – विश्व फुटबलमा सन् २०१८ मा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले पछिल्लो एक दशकदेखि जमाएको एकल वर्चस्व तोडियो । एकल उपाधिमा पछिल्लो एक दशक दुई खेलाडीले दबदबा दिँदै आएपनि यस वर्ष लुका मोड्रीचले ब्यालोन डी’ओर र फिफाको द बेस्ट अवार्ड जित्दै त्यसलाई तोडे । यसका बाबजुद रोनाल्डो र मेसीले आफ्नो स्तर भने देखाए नै ।
इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-१ ले पराजित गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यससँगै रोनाल्डोले सन् २०१८ मा आफ्नो गोलसंख्या ४९ पुर्याए । यता बार्सिलोनाका कप्तान लिओनेल मेसीले सन् २०१८ मा ५१ गोल गरे । दुवै खेलाडीले सन् २०१८ मा संयुक्त रुपमा १ सय गोल पुरा गरे ।
मेसीले पछिल्लो ९ वर्षमा ८ पटक ५० गोलको आँकडा पार गरेका छन् । उनले सन् २०१३ मा ४७ खेल खेल्दै ४५ गोल गर्दा मात्र उक्त कडी पार गर्न सकेका थिएनन् । यता क्रिस्टियानो रोनाल्डोले भने सन् २०११ देखि यता लगातार ५० गोल पुरा गरेका छन् । मेसीले ५० गोल पुर्याउन नसकेको वर्ष २०१३ मा उनले ६९ गोल गरेका थिए । तर मेसीले त्यसअघि सन् २०१२ मा ९१ गोल गर्दै विश्व कीर्तिमान नै कायम गरेका थिए ।
रोनाल्डो र मेसी दुवै हाल आ-आफ्नो लिगमा सर्वाधिक गोलकर्ता होडको शीर्षस्थानमा छन् । लिगमा फितलो सुरुवात गरेका रोनाल्डोले हालसम्म १४ गोल गरिसकेका छन् । कप्तान मेसीले पनि बार्सिलोनाका लागि १५ गोल गर्दै शीर्ष स्थानमा पकड बनाएका छन् ।