पोखरा (हाम्रो खेलकुद) – पोखरामा दुई वर्षपछि अर्को महिना मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा माघ १५ देखि २६ गते सम्म पोखरा कप हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।
पोखरा कप अन्तिम पटक २०७२ मा आयोजना भएको थियो । त्यसपछि हिसाब सार्वजनिक गर्न नसकेपछि पोखरा कप हुन सकेको थिएन ।यद्दपी जिल्ला संघले साधारण सभाका दौरान प्रतियोगिता आयोजनामा घाटा भएकाले निरन्तरता दिन नसकेको बताएको थियो । जिल्ला संघमा नयाँ नेतृत्वपछि पोखरा कपले पुनः निरन्तरता पाउन लागेको हो । फुटबल लोकप्रिय रहेको पोखरा पनि घरेलु फुटबलको राजनीतिको शिकार रहँदै आएको छ ।
अनाथ बालकहरुलाई एकेडेमीमा राख्नका लागि आहा रारा गोल्ड कप गर्दै आएको सहारा क्लबलाई कमजोर पार्नका लागि तत्कालिन एन्फा नेतृत्वले जिल्ला संघलाई अलग नकआउट प्रतियोगिता गर्न प्रेरित गरेको थियो । आहा रारा गोल्डकप १७ वर्षयता निरन्तर आयोजना हुँदै आएको छ । पोखरा कप २ वर्षपछि आयोजना हुन लागेको हो । यसपटक आहा गोल्ड कप फागुन ९ गते देखि आयोजना गर्ने गरि एन्फाले स्वीकृति दिएको छ ।
१२ दिन सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ८ ‘ए’ डिभिजन, ३ विदेशी र आयोजक टोली गरी १२ टोलीको सहभागिता रहने बताइएको छ । पुरस्कार रकम बृद्धि गरिएको प्रतियोगिताको विजेताले यसपटक ७ लाख ५५ हजार र दोस्रो हुने टोलीले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
२०७२ को विजेता मनाङले फाइनलमा आर्मीलाई ५-० ले पराजित गरेको थियो । यसपटक प्रतियोगितामा झन्डै १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघमा महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विद्यागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।
फुटबल विकासमा योगदान पु¥याउने एक खेलाडीलाई संघले लाइफ टाइम एचिभमेन्ट अवार्डसहित मोटरसाइकल प्रदान गर्ने बतएको छ । त्यस्तै जिल्ला संघमा आबद्ध मध्ये एकलाई उत्कृष्ट क्लबबाट पुरस्कृत गरिनेछ । संघमा २४ क्लब आबद्ध छन् । प्रतियोगिताका लागि मैदान मर्मत चलिरहेको उल्लेख गर्दै जिल्ला संघका अध्यक्ष मिलन गुरुङले दुबो सार्ने, स्तरोन्नति गर्न ८ लाख रुपैयाँ खर्च भएको बताएका छन् ।