काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ ।
तालिका अनुसार अन्तिम चरणका चरणका लिग खेलहरु शनिबारबाट सुरु हुनेछ । अन्तिम चरणको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दा सरस्वतीले नेपाल पुलिस क्लबसँग खेल्नेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुनेछ ।
आइतबार एनआरटी र ब्रिगेड ब्वाइज तथा फ्रेन्ड्स क्लब र लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबीच हुनेछ । खेल एकै समयमा क्रमश: एन्फा र हल्चोकमा हुनेछ । सोमबार मछिन्द्र र त्रिभुवन आर्मी क्लब तथा संकटा र एपीएफबीच खेल हुनेछ दुवै खेल सातदोबाटोमा हुनेछ । लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्री स्टारबीच खेल हुनेछ । खेल सातदोबाटोमा हुनेछ ।
लिगको १२औं चरणको खेल सकिँदा विजेता र उपविजेताको टुंगो लागिसकेको छ । मनाङ कीर्तिमानी आठौंपटक लिग च्याम्पियन बन्न सफल हुँदा संकटाले ३३ वर्षपछि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भयो । तेस्रो स्थानको लागि थ्री स्टार र आर्मीबीच प्रतिस्पर्धा छ । थ्री स्टार २३ अंक जोडेर तेस्रो स्थानमा छ ।
लिगको अन्तिम खेलमा शेर्पालाई पराजित गरे थ्री स्टारले तेस्रो स्थान पक्का गर्नेछ । बराबरी वा पराजित भएको अवस्थामा भने अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । आर्मी २२ अंक जोडेर चौथो स्थानमा छ । आर्मीले आफ्नो खेलमा मच्छिन्द्रलाई पराजित गरे या थ्री स्टार शेर्पासँग पराजित भएको अवस्थामा तेस्रो स्थान हात पार्नेछ । बराबरी वा हारले आर्मी चौथो अथवा पाँचौ स्थानमा खुम्चिनु पर्नेछ । यस्तै एपिएफले संकटालाई पराजित गरेको अवस्थामा आर्मी मच्छिन्द्रसँग पराजित भएको अवस्थामा एपिएफले चौथो स्थान हात पार्नेछ ।