काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा असोज महिनादेखि सुरु भएको बिना रेलिगेसनको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण शनिबारदेखि सुरु हुँदैछ ।
लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भइसकेको छ । संकटाले पनि पछिल्लो चरणमा रुस्लान थ्री स्टारलाई पराजित गर्दै लिग उपविजेतामा आफ्नो स्थान पक्का गरेको छ । अन्य स्थानको टुङ्गो लाग्न भने अन्तिम चरणका खेल समाप्त हुनुपर्नेछ । लिगमा क्लबहरुको स्थानसँगै अब व्यक्तिगत विधातर्फको उपाधि पनि कसले जित्छ भन्ने कौतुहलता सुरु भएको छ ।
यसपटक लिगमा उत्कृष्ट प्रदर्शन गरेका उत्कृष्ट डिफेन्डरको उपाधिका दावेदार निम्नानुसार छन् :
डिफेन्डर :
कमल श्रेष्ठ (मनाङ मर्स्याङदी क्लब) :
खेल – ११ (सबै खेलमा ९० मिनेट खेलेको)
क्लिन सिट – ५
पहेंलो कार्ड – २
म्यान अफ द म्याच – २ पटक (विरुद्ध च्यासल र सरस्वती)

कमल श्रेष्ठ
पछिल्लो वर्ष राष्ट्रिय टोलीमा नियमित रुपमा खेल्दै आएका कमल साफ च्याम्पियनसिप खेल्ने टोलीमा भने अटाएनन् । उनले लिगमा एक खेल दोहोरो पहेंलो कार्डमा गुमाउनुबाहेक सबै खेल पूर्ण रुपमा मैदानमा बिताएका छन् । उनले राइट ब्याकको भूमिकामा रक्षात्मक भूमिका मात्र नभएर आक्रमणमा पनि सहयोग पुर्याएका छन् ।
पछिल्लो चरणमा शेर्पाविरुद्धको महत्त्वपूर्ण खेलमा उनले नै अन्जन विष्टलाई असिस्ट दिएका थिए । जावलाखेल विरुद्ध खेलमा पनि उनले अन्जनलाई गोलको अवसर सिर्जना गरेका थिए । मनाङको अपराजित यात्रामा कमलले २ ओटा म्यान अफ द म्याच प्रदर्शन गरेका छन् ।
रञ्जित धिमाल (थ्री स्टार क्लब) :
खेल – ११
क्लिन सिट – ५
पहेंलो कार्ड – १
म्यान अफ द म्याच – २ (विरुद्ध जावलाखेल र एनआरटी)
रुस्लान थ्री स्टारले यस सिजन लिगमा फितलो नतिजा ल्याएपनि डिफेन्डर रञ्जित धिमालले आफूलाई पुन: एकपटक सिद्ध पारे । पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीमा पर्न नसकेका रञ्जित दुई वर्षअघि पहिलो रोजाइमा खेल्थे । यसपटक लिगअघि पर्याप्त विश्राम लिएर लिगमा फर्केका रञ्जितले विदेशी डिफेन्डर पिटर सेगुनसँग राम्रो समझदारी बनाए ।
थ्री स्टारको पेनाल्टी टेकर समेत रहेका उनले यस सिजन ७ गोल गरेका छन् । तीमध्य, ५ गोल पेनाल्टीमा, १ गोल पेनाल्टीको रिबाउन्ड र १ गोल फ्रिकिकमा आएको थियो । थ्री स्टारको बायाँ मिडफिल्ड तुलनात्मक कमजोर भएको अवस्थामा रञ्जितको क्रस नै आक्रमणमा महत्त्वपूर्ण पाटो बनेको थियो ।
अन्य राम्रो प्रदर्शन गर्ने खेलाडी :
संकटाका अमित तामाङ र सरोज दाहालले पनि यस सिजन राम्रो प्रदर्शन गरेका छन् । संकटाले पटक पटक रक्षापंक्तिका अन्य खेलाडी परिवर्तन गर्दा यी दुई खेलाडीले भने लगातार आफ्नो भूमिकामा अब्बल देखिए । महत्त्वपूर्ण खेलमा गोल समेत गरेका यी दुईका कारण संकटालाई उपविजेता बन्न सघाउ पुगेको थियो ।
मछिन्द्रका विकास राईले सिजनको सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्दै म्यान अफ द म्याच पनि पाए । लिगको पछिल्लो भागमा भने चोटका कारण उनले निकै समस्या खेप्नुपर्यो ।