एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्ग प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति नेदरल्यान्डको आयाक्सले डिफेन्डिङ च्याम्पियन स्पेनिस रियल मड्रिडको सामना गर्दैछ ।

पहिलो लेगको खेल आयाक्सको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुदैछ । नेदरल्यान्डको लिगमा मिश्रित प्रदर्शन गरेको घरेलु टोली आयाक्स रियललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । तर, पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको रियललाई रोक्न आयाक्सलाई चुनौती हुनेछ । पछिल्लो ६ खेलमा रियलसँग पराजित भएको आयाक्सले जम्मा दुई गोल गर्न मात्र सफल भएको छ । यस्तोमा आयाक्सलाई रियलको पछिल्लो लय चुनौतीपूर्ण नै हुनेछ ।
यता, खराव सिजनबाट गुज्रिएको रियल पछिल्लो समय लगातार उच्च प्रदर्शन गरिरहेको छ । डिफेन्डिङ च्याम्पियन रियल घरेलु टोलीलाई घरेलु मैदानमा पराजित गर्दै अघिल्लो चरण प्रवेशलाई बलियो बनाउने लक्ष्यमा हुनेछ । रियलले आयाक्ससँगको सबै ६ भेटमा जित निकालेको छ ।
यही जितलाई निरन्तरता दिने लक्ष्यमा रियल हुनेछ । रियलमा फरवार्ड करिम बेन्जेमा, भिनिसियस जुनियर, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो र ग्यारेथ बेल लगायतका खेलाडीले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । दोस्रो लेग रियलको घरेलु मैदानमा ६ मार्चमा हुनेछ ।
च्याम्पियन्स लिगमै आज राति इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्देछ । खेल टोटेनहमको मैदानमा राति १ः४५ बजेपछि शुरु हुनेछ ।