पेरिस (एजेन्सी)– फ्रान्सेली युवा स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले च्याम्पियन्स लिगमा पनि आफ्नो प्रभाव जमाउन थालेका छन् । खेल जीवनको छोटो समयमा नै उनले एकपछि अर्को सफलता हात पार्दै जान थालेका छन् ।

विश्वकप विजेता एमबाप्पेले च्याम्पियन्स लिगमा ब्राजिलियन रोनाल्डोको गोल गर्ने रेकर्ड तोडेका छन् । मंगलबार राती पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २–० ले हराउँदा दोस्रो गोल गर्दै एमबाप्पेले रोनाल्डोलाई उछिनेका हुन् ।
ब्राजिलियन रोनाल्डोले भन्दा एमबाप्पेले कम खेलमा १४ गोल पुरा गरेका छन् । एमबाप्पले २४ खेलमा १४ गोलको आँकडा पूरा गरेका हुन् । तर रोनाल्डोले भने ४० खेलमा १४ गोल गरेका थिए ।
युवा प्रतिभा एमबाप्पेको खेल जीवनले अझै लामो यात्रा तय गर्न बाँकी छ ।
च्याम्पियन्स लिगमै सर्वाधिक गोलकर्ताको सुचिमा पुग्नका लागि उनले अझ धेरै वर्ष कुर्नुपर्ने हुन्छ । हाल क्रिस्टियानो रोनाल्डोको नाममा १ सय २१ र लियोनल मेस्सीको नाममा १ सय ६ गोल रहेको छ । २० वर्षे एमबाप्पेले लामो करिअरमा त्यस रेकर्डलाई पछ्याउने सिलसिला सुरु भइसकेको छ ।

एमबाप्पले विस्तारै आफूलाई थप परिपक्व बनाउँदै लगेका छन् । उनले युनाइटेडसँग च्याम्पियन्स लिगको खेलपछि भनेका छन् , ‘हामी हिजै अर्को गोल पनि गर्न सक्थ्यौं । तर अब म अर्को लेगमा गोल गर्नका लागि पनि तयार छु ।’
पीएसजीले युनाइटेडमाथि २-० को सहज जित हासिल गर्दै क्वार्टरफाइनलको सम्भावनालाई बलियो बनाएको छ । टोलीका सुपर स्टारद्धय नेयमार र इडिन्सन काभानी विनापनि पीएसजीले महत्वपूर्ण जित हािसल गरेको हो ।