काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल विकासका लागि चीन फुटबल एसोसिएसन (सिएफए) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच चार वर्षे सम्झौता भएको छ ।

नेपाल भ्रमणमा रहेका चाईनिज फुटबल संघका कार्यवहाक अध्यक्ष डु जाओकाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिहीबार चार बर्षे सम्झौता पत्रमा औपचारक रुपमा हस्ताक्षर गरे । एन्फा र चीनले मुख्य तीन बुँदामा आधारित रहेर सम्झौता गरेका हुन् । जसमा राष्ट्रिय टिमको आदान प्रदान, पुर्वाधार विकासमा सहकार्य तथा प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्नेछ ।
सम्झौताअनुसार अब नेपालका राष्ट्रिय महिला र पुरुष तथा उमेर समूहका टिम चीनमा गएर मैत्रीपूर्ण खेल खेल्नुका साथै अभ्यास गर्ने छन् । यस्तै चीनका राष्ट्रिय महिला, पुरुष तथा उमेर समूहका टिम नेपाल आएर अभ्यास गर्नेछन् । यस्तै सम्झौता अनुसार नेपाली फुटबलको भौतिक संरचना निर्माण गर्न पनि चीनले महत्वपूर्ण भूमिका खेल्ने छ ।

सम्झौतापछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासमा कोसेढुङ्गा सावित हुने बताए । उनले अब नेपाली महिला पुरुष टिम चीनमा गएर खेल्ने छ भने चीनका टिम नेपालमा आएर खेल्ने बताउदै आगमी वर्षबाट मोफसलका प्रतियोगिताहरुमा चीनको प्रान्तीय तथा तेस्रो डिभिजनसम्मका क्लबहरुले खेल्न सक्ने बताए ।
डु जाओकाईले नेपालको फुटबल बिकासमा चीन सहयोग गर्न तयार रहेको बताए । उनले तिब्बत नजिक रहेको र तब्बतसंग जोडिएर फुटबलमा धेरै काम गर्न सकिने बताए । उनले अहिले टिम आदान प्रदानबाट सुरूवात गर्ने र अरु कार्य विस्तारै अघि बढ्ने बताए ।
नेपाली फुटबलको विकासमा सहकार्य गर्न कार्यवहाक अध्यक्ष डु जाओकाईसहितको टोली बिहिबार नेपाल आएका थियो । टोली शुक्रबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।