एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराब प्रदर्शन गरेका कारण आउँदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने तयारी गरेको छ ।

१० महिनापछि क्लबको प्रशिक्षकको रुपमा फर्किएपछि जिदान अहिले टिम बनाउने तयारीमा रहेका छन् । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट उपाधि विमुख बनिसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि छ ।
यसक्रममा रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङलाई अनुबन्ध गर्ने तयारी गरेको छ । रियलले यसपटक ३०० मिलियन पाउन्डको नयाँ खेलाडी भित्र्याउन खर्च गर्ने बुझिएको छ । यतिमात्र होइन रियलले ब्राजिल तथा पिएसजीका नेयमार, पीएसजीका एमबाप्पे, चेल्सीका इडेन हजार्ड र टोटेनहमका क्रिस्टियन इरिक्सनलाई पनि क्लबमा अनुबन्ध गने तयारीका गरेको छ ।
रियलले रहिमका लागि आकर्षक प्रस्ताव गरेपनि सिटी भने बेच्न अनिच्छुक रहेको ‘दि मिरर’ मा उल्लेख छ । सिटीले रहिमलाई गत नोभेम्वरमा मात्रै पाँच वर्षको लागि क्लबमा सम्झौता थपेको थियो । रहिमको सिटीसँग २०२३ सम्म सम्झौता रहेको छ । यो सिजन उच्च प्रदर्शन गरिरहेका २४ वर्षीय रहिमले प्रिमियर लिगको २७ खेलमा १५ गोल गर्दै ९ गोलको लागि सहायता दिएका छन् ।
सन् २०१५ मा रहिम लिभरपुलमा रहँदा रियल ‘बी’ टिमका प्रशिक्षक रहेका जिदानले रहिममाथि नजर लगाइसकेको थियो । ‘हामीलाई रहिम भन्ने को हो थाहा छ । अहिलेलाई यति बुझौ उनी उत्कृष्ट युवा खेलाडी हुन् । जसले रियल मड्रिडमा गएर थप राम्रो खेल्न सक्छन’ , प्रशिक्षक जिदानले भनेका छन्, ‘विश्वमा निकै कम खेलाडीले मात्रै रियललाई सुधार्न सक्नेछ । हामी राम्रो युवा खेलाडी समेटेरै टिम बनाउने छौं । हामी त्यही युवा खेलाडीको खोजीमा छौं ।’