एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई यूईएफए च्याम्पियन्स लिगमा प्रतिबन्ध हुने प्रबल सम्भावना रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध युभेन्टसको पुनरागमनमा ह्याट्रिक गरेका रोनाल्डोलाई यूईएफएको अनुशासन समितिले कारवाही गर्ने भएको छ ।

च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्ने भएका हुन् । यूईएफएले सोमबार विज्ञप्ति जारि गर्दै रोनाल्डोको व्यवहार आपत्तिजनक रहेको बताएको हो । उनले आयक्सविरुद्ध हुने क्वाटरफाइनल खेलको एक खेल गुमाउने सम्भावना बढेको छ ।
पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमिओनीले पनि त्यस्तै शैलीमा खुशी मनाउँदा उनले २० हजार युरो जरिवाना तिर्नु परेको थियो । आफ्नो आलोचकहरुलाई गोल सेलिब्रेसन मार्फत विभिन्न सन्देश छाड्दै आएका रोनाल्डोले सिमोनको त्यस सेलिब्रेसनलाई दोहोर्याउदा युरोपेली फुटबल निकाय युईएफएले उनीमाथी पनि कारबाही गर्ने प्रवल सम्भावना देखिएको हो । खेलाडी भएका कारण मैदानभित्र उक्त हर्कत गरेका कारण उनले प्रतिबन्ध पाउने सम्भावना बढेको हो ।