काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय सिनियर पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको मैत्रीपुर्ण खेल नेपाली फुटबलको लामो यात्राको सुरुवात हुने बताएका छन् ।

तस्वीर सौजन्यः एनएसजेएफ
कुवेतविरुद्धको खेलअघि प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले हाम्रा लागि यो दुई मैत्रीपुर्ण खेल निकै महत्वपुर्ण रहेको बताएका हुन् । गत फागुनमा राष्ट्रिय टिम सम्हालेयता कालिनको यो पहिलो खेल हुनेछ ।
‘नेपाली फुटबल लामो यात्रा तय गर्न बाँकी छ । त्यसका लागि कुवेत विरुद्धको खेल लामो यात्राको सुरुवात हो ।’ प्रशिक्षक कालिने भने, ‘कुवेत हाम्रो लागि नौलो टिम हो । हामीले छोटो तयारीका बाजुत राम्रो गर्नेमा विश्वस्त छौं । हामी जित्नकै लागि मैदान उत्रनेछौं ।’
कुवेत राष्ट्रिय टिमका प्रशिक्षक रोमियो जोजाकले लामो समयको तयारी नपाएपनि नेपाललाई जित्नेमा विश्वस्त रहेको बताए । ‘हामीले छोटो तयारी पाएका छौं । हामीले आफ्नो प्रदर्शन गर्न सकेमा नतिजा अनुकुल निकाल्न सकिनेछ,’ प्रशिक्षक जोजाकले भने, ‘कुवेत फुटबल बल्ल पुरानो लयमा आउने क्रममा छ । त्यसैले नेपालविरुद्धको दुवै खेल महत्वपुर्ण छ ।’
मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेलका लागि दुई साता मोफसलका विभिन्न गोल्डकपको अवलोकन गर्दै सिधै २३ जना खेलाडी छनोट गरेर प्रशिक्षण थालेको थियो । अन्तिम समयमा इन्डोनेसियाबाट रोहति चन्द फर्किएपछि २४ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपालको राष्ट्रिय टोली र यू–२३ टोलीको खेल एकै समय भएपछि राष्ट्रिय टोलीमा रहँदै आएका केहि युवा खेलाडी यू–२३ टोलीमा व्यस्त छन् । प्रशिक्षक कालीनले यसकारण युवा खेलाडीलाई बाहिर राख्दै टोलीको घोषणा गरेका छन् । विमल घर्ति मगर, अनन्त तामाङ, अन्जन विष्ट, सुनील बल, दिनेश राजवंशी, तेज तामाङलगायत खेलाडीले यसअघि राष्ट्रिय टोलीको पहिलो रोजाइमा नै खेल्दै आएका छन् ।
नेपाल र कुवेतबीचको पहिलो मैत्रीपुर्ण खेल बिहीबार नेपाली समयअनुसार राति ८ः३० बजेपछि शुरु हुनेछ । दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।
२४ सदस्यीय खेलाडी टोलीसहित अन्य पदाधिकारी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।