एजेन्सी – यूरो कप छनोट अन्तर्गत चेल्सीका मिडफिल्डर इडेन हजार्डको दुई गोलमा बेल्जियमले महत्त्वपूर्ण जित हासिल गरेको छ । हजार्डको प्रदर्शनमा प्रभावित बेल्जियमले रुसलाई ३-१ ले पराजित गर्यो ।

घरेलु टोली बेल्जियमका लागि युरी टिलेमान्सले १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बेल्जियमको अग्रता धेरै समय भने टिकेन । दुई मिनेटपछि रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाको गल्तीलाई सदुपयोग गर्दै डेनिस चेरेसेभले बराबरी गोल गरे। पहिलो हाफ सकिनुअघि हजार्डले पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा पनि खेललाई नियन्त्रणमा राखेको बेल्जियमका लागि हजार्डले ८८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । यस जितसँगै युरो छनोटमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।
समूह ‘आई’ को अन्य खेलमा कजाकस्थानले स्कटल्यान्डलाई ३-० ले तथा साइप्रसले स्यान मरिनोलाई ५-० ले पराजित गर्यो ।