एजेन्सी – पोल्यान्डले सन् २०२० को युरोकपको समूह ‘जी’ को छनोट खेलमा कठिन जित निकालेको छ । हापेल स्टेडियम वेनमा बिहीबार राति भएको खेलमा पोल्यान्डले अष्ट्रियामाथि १–० को कठिन जित निकालेको हो ।

पोल्यान्डको जितमा इटालियन क्लब एसी मिलानका २३ वर्षीय फरवार्ड क्रिजिस्टफ पियाटिकले दोस्रो हाफमा निर्णय गोल गरे । उनले मैदान प्रवेश गरेको १० मिनेटभित्र गोल गर्न सफल भएको हो । उनी खेलको ५९औं मिनेटमा पियोटर जिलिन्स्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
निकै नै प्रतिस्पार्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असफल बन्यो । तर, ६९औं मिनेटमा घरेलु टोलीको कमजोर डिफेन्सको फाइदा उठाउदै पियाटिकले हेडमार्फत गोल गर्न सफल भएका थिए ।
पियाटिकको यो तेस्रो अन्तर्राष्ट्रिय खेलमा दोस्रो गोल हो । उनले २०१८ सेप्टेम्वरमा आयरल्यान्डविरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।
मिलानका २३ वर्षीय पियाटिक सिरी ‘ए’ मा १९ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् ।
समूह ‘जी’ को अर्काे खेलमा म्यासेडोनियाले लातभियालाई ३–१ ले पराजित गर्दा इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।