एजेन्सी – रियल म्याड्रिडमा पछिल्लो समय गोलरक्षक छनोटलाई लिएर निकै चर्चा हुँदै आएको छ । दुई विश्वस्तरीय गोलरक्षक एकै टोलीमा हुँदा कसलाई खेलाउने भन्ने विषयमा प्रशिक्षकलाई टाउको दुखाइ नै हुने गरेको छ ।

रियलले गत महिना सान्टियागो सोलारीलाई बर्खास्त गर्दै सिजनको तेस्रो प्रशिक्षकका रुपमा जिनेदिन जिदानलाई क्लबमा फिर्ता बोलायो । सिजनको सुरुवातमा जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि सोलारीलाई छानेको रियलले उनीसँग पनि लामो समय धैर्य गर्न सकेन । सुरुवात राम्रो भएपनि लगातार खराब नतिजा निकालेपछि सोलारीले क्लब छाड्नुपर्यो ।
सिजनको सुरुवातमा रियलले चेल्सीका गोलरक्षक थिबाउट कोर्टुवालाई पनि अनुबन्धन गर्यो । पछिल्लो सिजन नियमित गोलरक्षक रहेका केलर नाभासले राम्रो प्रदर्शन गरेपनि रियलले गोलरक्षकमा निकै मोटो रकम खर्चियो । तर यो निर्णय सुखद सव्वित भएन । कोर्टुवाको लगातार खराब प्रदर्शनले टोलीलाई घाटा पुगीरहयो । यसका बाबजुद सोलारीले नाभासलाई खेलाउने निर्णय लिएनन् ।

जिदानले आफ्नो पहिलो खेलमा नै नाभासलाई टोलीमा समेट्दै जित दर्ता गरे । उनले आइतबार हुएस्काविरुद्ध दोस्रो खेलमा भने आफ्नो छोरा लुका जिदानलाई सुरुवाती रोजाईमा खेलाए । तर जिदान उनलाई आफ्नो छोरा भन्दापनि एक खेलाडीका रुपमा हेरेको बताउँछन् ।
‘लुका रियलमा धेरै अगाडी देखिका खेलाडी हुन् । मेरो लागि उनी पनि अर्का एक खेलाडीकै रुपमा रहेका छन् । आज टोलीको अवस्थाअनुसार नै उनले खेल्न पाएका हुन्,’ प्रशिक्षक जिदानले भने, ‘नाभास अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहेर आएका छन् । उनलाई विश्राम आवश्यक छ । कोर्टुवा घाइते भएकाले टोलीमा छैनन् ।’
लुकाको लागि पहिलो खेल सुखद रहन भने सकेन । खेलको तेस्रो मिनेटमा नै रियल १-० ले पछाडी परेको थियो । यद्यपी करीम बेन्जेमाले अन्तिम मिनेटमा गोल गरेपछि रियल ३-२ ले विजयी रहयो ।