काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतसँग ३-१ ले पराजित भएको छ ।

म्यानमारस्थिति मन्दलर थिरी रंगशालामा भारतले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । पुनम जर्घा मगरको आत्मघाती गोलमा भारत अगाडी बढेको थियो । तर कप्तान निरु थापाले एक मिनेट नबित्दै बराबरी गोल फर्काएपछि नेपाल खेलमा फर्कियो ।
दोस्रो हाफको ६० औं मिनेटमा संधिया रंगनाथनले कर्नरमा आएको बललाई गोलमा परिणत गर्दै भारतलाई पुन: अग्रता दिलाइन् । खेलको ११ मिनेट समय बाँकी रहँदा आशालता देवीले पेनाल्टीमा गोल गर्दै भारतको जित पक्का गरिन् ।
पहिलो खेलमा इन्डोनेसियालाई २-० ले पराजित गरेको भारत यस जितसँगै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालको भने लगातार दोस्रो पराजयसँगै छनोट हुने आशा समाप्त भएको छ ।