काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालको अगाडी बढ्ने सम्भावना समाप्त भइसकेको छ । समूहका सुरुवाती दुई खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा मंगलबार इन्डोनेसियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा आयोजक म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग पनि सोहि अन्तरमा पराजित भएको हो । दुवै खेलमा नेपालले पहिलो हाफमा सुरुवाती गोल खाएपनि बराबरी गोल गर्न भने सफल भएको थियो । दोस्रो हाफमा नेपालले सम्हालिन नसक्दा पराजय भोग्नुपरेको थियो । नेपाल अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको इन्डोनेसियालाई पराजित गर्दै सुखद अन्त्य गर्ने सुरमा हुनेछ ।
इन्डोनेसियाले पनि प्रतियोगिताका सुरुवाती दुवै खेल हारेको छ । पहिलो खेलमा भारतसँग २-० ले पराजित भएको इन्डोनेसिया दोस्रो खेलमा म्यानमारसँग ६-० ले पराजित भएको थियो । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक इन्डोनेसियाको सामना गर्न लागेको हो । समूहको अर्को खेलमा भारत र म्यानमार पनि भिड्नेछन् । यस खेलको विजेताले अर्को चरणमा स्थान बनाउनेछ ।