सर्लाही (हाम्रो खेलकुद) – आयोजक बागमती युवा क्लबमाथि फराकिलो जित निकाल्दै ललितपुरको रुस्लान थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सन्तोष स्मृति खेल मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । थ्री स्टारको जितमा सुशील राईले दुई तथा अनिल गुरुङ र मेन्साले १-१ गोल गरे ।
खेलको पाँचौ मिनेटमा थ्री स्टारले सुशिल राईको गोलबाट अग्रता बनाएको थियो । उनले सुनिल बलको क्रसमा हेडमार्फत गोल गरेका थिए । ६९औं मिनेटमा अनिल गुरुङले गर्दै थ्री स्टारको अग्रता दोब्बर बनाए । मेन्साको पासमा अनिलले दोस्रो प्रयासमा बक्सभित्रबाट गरेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो ।
इन्ज्युरी समयमा सुशिल राईले गोल गरेपछि थ्री स्टार ३–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेन्साले गोल गर्दै थ्रीस्टारलाई ४–० को फराकिलो जित दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट रञ्जित धिमालको फ्रिकिक क्रसबारमा लाग्दै फर्केर आएपछि रिबाउन्डलाई मेन्साले गोलमा परिणत गरेका थिए ।
अब थ्री स्टारले सेमिफाइनलमा एपीएफ र डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दुई गोल गरेका थ्री स्टारका सुशील राई खेलको म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा बिहीबार एपिएफ र च्याम्पियन सुदूरपश्चिम ११ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।