एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने हुएस्काविरुद्ध खेलका लागि बार्सिलोनाले स्टार खेलाडीहरुलाई विश्राम दिने भएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मुख्य खेलाडीलाई विश्राम दिएका हुन् । कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोले हुएस्काविरुद्ध खेल्ने टोलीमा स्थान बनाएका छैनन् । पिके र सुआरेज भने प्रतिबन्धका कारण यस खेलमा छनोटका लागि उपलब्ध थिएनन् ।
शुक्रबारको प्रशिक्षणमा राकीटिच र रोबर्टोले ज्वरो आएका कारण नै विश्राम लिएका थिए । त्यसैले पनि उनीहरुलाई विश्राम दिइएको हो । कप्तान मेसी भने युनाइटेडविरुद्ध खेलमा नाकमा चोट लागेपछि विश्राम लिने पक्षमा पुगेका हुन् । क्याम्प नोउमा हुने दोस्रो लेगका लागि सबै खेलाडी चुस्त राख्न प्रशिक्षक भालभेर्डेले यो कदम चालेका हुन् ।
आधा दर्जन खेलाडीले विश्राम पाउँदा युवा खेलाडीहरुले टोलीमा स्थान पाएका छन् । जन-क्लेर टोदिबो, रिकी पुई, अबेल रुइज र मौस वागे हुएस्काविरुद्ध टोलीमा नयाँ अनुहारको रुपमा रहेका छन् ।