एजेन्सी – फ्रान्सेली लिगको च्याम्पियन टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार लिगमा मोन्टपेलरसँग ३-२ को हार बेहोरेको छ ।

पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको पीएसजीको लिगमा लगातार तेस्रो हार हो । जनवरी २०१० पछि टोलीले पहिलोपटक लगातार तेस्रो पराजय बेहोरेको हो । पीएसजीले खेलको १२ औं मिनेटमा एम्ब्रोस ओयोंगोको आत्मघाती गोलमा अग्रता लिएको थियो । तर प्रेस्नेल किम्पेम्बेले अर्कोतर्फ पनि आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो ।
दोस्रो हाफको ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाए । तर ५ मिनेटको अन्तरमा दुई गोल गर्दै मोन्टपेलरले अग्रता लियो । ८० औं मिनेटमा एन्डी डेलार्ट र ८५ औं मिनेटमा सुलेमान कमाराले गोल गर्दै पीएसजीलाई स्तब्ध पारे । पीएसजीले स्टार फरवार्ड नेयमारलाई पहिलो रोजाइमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।
अघिल्लो साता मात्र फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएको पीएसजीले लिग उपाधि भने जितिसकेको छ । उपाधि संख्याको हिसाबले यो पीएसजीको सन् २०१३ यताकै सबैभन्दा खराब सिजन रहयो ।