7 years ago
May 3, 2019
सुबास हुमागाईं, काठमाडौं
खेलाडीको करिअरमा कुनैपनि समय चोटपटक लाग्नसक्छ । कहिले खेलाडीको आफ्नै गल्ति त कहिले विपक्षी खेलाडीको गल्तीका कारण चोट लाग्ने गर्दछ । चोटले खेलाडीको करिअरमा निकै ठूलो असर पुर्याउँछ । तर, चोट लागेको अवस्थामा उचित कदम चाल्ने हो भने मैदानमा सुखद पुनरागमन गर्न कठिन भने हुँदैन । नेपालको अवस्थामा ‘स्पोर्ट्स मेडिसिन’ को अवस्था केहि कमजोर नै छ । त्यसैले पनि ठूलो चोट लागेपछि कमै खेलाडीले राम्रो पुनरागमन गरेका छन् ।
नेपाली फुटबलमा सुरज भुषाल नयाँ नाम होइनन् । सन् २०१३ देखि ५ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीको फिजियो रहेका भुषालले लामो समय रुस्लान थ्री स्टार क्लबको फिजियोको रुपमा पनि काम गरे । अर्थोपेडिक्स र स्पोर्ट्स फिजियोथेरापीमै स्न्ताकोत्तर गरेका भुषालले पछिल्लो समय फुटबलबाट प्रत्यक्ष रुपमा विश्राम लिएर आफ्नै संस्था खोलेका छन् । नेपालमा पुनर्स्थापना (रिह्याब) का लागि उचित संस्थाको कमी देखेपछि उनले आफ्ना सहपाठीहरुसँग सहकार्य गर्दै ‘अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टर’ नामक संस्था संचालन गरिरहका छन् ।
नेपालले एएफसी सोलिडारिटी कप जित्दा होस् या थ्री स्टारले एएफसी कपमा सहभागिता जनाउँदा होस्, सुरज टोलीका सदस्य थिए । नेपालले त्यसबीचमा खेलेका साफ च्याम्पियनसिपमा पनि सुरज टोलीमा थिए । उनले एएफसी र फिफाको सेमिनारमा सहभागिता जनाएर पनि विश्व फुटबलमा स्पोर्ट्स मेडिसिनको स्थितिबारे राम्रोसँग नियालेका छन् । नेपाली फुटबललाई नजिकबाट नियालेका उनले वर्तमान अवस्थामा स्पोर्ट्स मेडिसिनबारे खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई कमै जानकारी रहेको बताउँछन् ।

‘ स्पोर्ट्स मेडिसिनले कस्तो किसिमको प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुर्याउँछ भन्ने नेपाली फुटबलमा निकै कमलाई जानकारी छ । नेपालमा स्पोर्ट्स मेडिसिनको लागि संस्थाको पनि कमी छ । राखेपमा एउटा स्पोर्ट्स मेडिसिन सेन्टर छ तर त्यसले उपयुक्त सामाग्रीको कमीका कारण खासै राम्रो सुविधा दिन सकिरहेको छैन ,’ उनले भने ।
खेलाडीहरुमा चेतनाको कमीका कारण पनि चोट लागेपछि ठिक हुन लामो समय लाग्ने र धेरै अवस्थामा चोट बल्झिने भुषालको बुझाइ छ । ‘ नेपालमा धेरै फुटबल खेलाडीलाई घुँडा र एन्कलको समस्या देखिन्छ । धेरैजसो समस्या उचित वार्म अप र कुल डाउनको कमीले गर्दा हो । खेल नहुँदाको समयमा पनि खेलाडीले आफूलाई नियमित तयार राख्नुपर्छ । यसबाहेक चोट लागेपछि हुने रिह्याबमा उचित ध्यान नपुग्दा खेलाडीहरुलाई असर परको छ,’ उनले थपे । भुषालले खेलमा रेफ्रीको निर्णयले पनि खेलाडीको चोटमा केहि हदसम्म असर गर्ने बताए ।

भुषालका अनुसार चोट लागेपछि मैदानमा फर्कनुअघि बिचमा खेलाडीले आफ्नो रिह्याबमा कति समय बिताएको छ, त्यसले ठूलो भूमिका खेल्छ । ‘सर्जरी गरेको दिनदेखि नै रिह्याब सुरु हुन्छ । खेलाडीलाई मैदान फर्कंदा बलियो बनाउने नै रिह्याब हो । विभिन्न चरणका रिह्याबपछि मात्र खेलाडी मैदान फर्कन तयार रहेको थाहा पाउन सकिन्छ । नेपालमा उचित सामग्रीको कमीका कारण उचित रिह्याबका लागि केहि लामो समय लाग्छ तर मैदान फर्केपछि चोट बल्झने समस्या भने हुँदैन,’ उनले प्रष्ट पारे ।
भुषालको टोलीले अर्थोप्लास्ट रिह्याब सेन्टरले सेवा संचालन सुरु गरेको चार महिनामै केहि नाम चलेका खेलाडीको रिह्याबलाई नजिकबाट हेरिरहेको छ । राष्ट्रिय टोलीका रविन श्रेष्ठ, ए डिभिजन लिगका कर्ण लिम्बू, राजेश परियार, समिर विष्ट लगायत प्रशिक्षक नविन महर्जन रिह्याबका लागि यहाँ आइरहेका छन् । फिजियो भुषालले आफ्नो फुटबलप्रतिको मायाका कारण खेलाडीहरुलाई केहि फाइदा पुगोस भन्ने हेतुले संस्था खोलेको बताए । व्यावसयिक रुपमा भन्दा पनि खेलमा चोटले बाधा नपुगोस भन्ने आफ्नो मूल नारा रहेको उनले जानकारी दिए ।

खेल र खेलाडीलाई लक्षित गरेर खोलिएको संस्था नेपालमा खासै नदेखेको कारण आफूले यस कदम चालेको भुषालले बताए । ‘खेल र खेलाडीलाई लक्षित गरेर त्यहि अनुसार सामाग्री भएको संस्था नेपालमा छैन । केहि स्पोर्ट्स फिजियो त कार्यरत हुनुहुन्छ तर खेलाडीलाई लक्षित गरिएको संस्था भने हाम्रो पहिलो हो । हामीले खेलाडीहरुको लागि विशेष छुटको व्यवस्था पनि गरेका छौं,’ उनले भने ।
भुषालले खेलाडीहरु राष्ट्रको लागि खेल्ने र खेल जीवनमा कुनै किसिमका समस्या नआवोस भन्ने चाहन्छन् । आफ्नो ५ वर्षको स्थलगत अध्ययनबाट देखेका समस्यालाई उनले आफ्नै संस्थामार्फत केहि हदसम्म न्यूनीकरण गर्ने प्रयास गरेका छन् । कुनैपनि क्षेत्रका खेलाडीलाई उचित रिह्याबका लागि उनले आफ्नो संस्थामा स्वागत गर्ने बताउँछन् ।


December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]