एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओजीसी निस र पीएसजीको खेल १-१ को बराबरीमा टुंगियो ।

प्रतिबन्धका कारण युवा फरवार्ड किलियन एमबाप्पेबिना उत्रिएको पीएसजी खेलको पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटमा निसले अग्रता लियो । इग्नाटियस गानागोले पाहुना टोलीलाई अगाडी बढाएका थिए । ६० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । प्याट्रिक बर्नरले एन्जल डी मारियालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरेका थिए ।
निस १-० ले अगाडी रहेको अवस्थामा फरवार्ड एलेन सेन्ट म्याक्सिमको प्रहार पोस्टमा लागेर फर्केको थियो । लगत्तै एडिन्सन काभानीले गोल गरेपनि रेफ्रीले अफसाइड घोषित दिएका थिए । खेलको ९० औं मिनेटमा काभानीले पेनाल्टी चुकाउँदा पीएसजीले जित हासिल गर्न सकेन । दान्तेले पेनाल्टी क्षेत्रभित्र नेयमारलाई लडाएपछि प्राप्त पेनाल्टी गोलरक्षक वाल्टर बेनिटेजले बचाएका थिए ।
पीएसजीले पछिल्ला ७ खेलमध्य १ खेलमा मात्र जित हासिल गरेको छ । फ्रेन्च कप फाइनलमा रेनेससँग पेनाल्टीमा पराजित पीएसजीले लिग उपाधि भने पक्का गरिसकेको छ ।