भरतपुर (हाम्रो खेलकुद)– घरेलु टोली चितवन ११ सिएमएस भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आठौं राष्ट्रिय खेलकुदमा फुटबलतर्फको स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबलाइ सडन डेथमा हराउँदै चितवन अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय १–१ को बराबरी र टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि सडन डेथमा आयोजक टोलीले बाजी मारेको थियो । राष्ट्रिय टोलीको प्रशिक्षणका कारण टोलीका केहि महत्वपूर्ण खेलाडी विना उत्रेको आर्मीविरुद्ध घरेलु टोलीले पहिलो हाफमा कप्तान रमेश बर्तौलाको गोलमा अग्रता लिएको थियो ।
खेल सकिन १२ मिनेट बाँकी रहँदा आर्मीका लागि सञ्जिव मोक्तानले बराबरी गोल फर्काएका थिए । चितवनका कप्तान रमेश म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
एजे इन्टरनेसनल प्रा लिगको आयोजनामा जारी प्रतियोगितामा आइतबार झापा ११ र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । भरतपुर गोल्डकपको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।