काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्ट्स सेन्टर र चावहिल स्पोर्टस् क्लब काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपको फाइनलमा प्रवेश गरेका छन् ।

बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटका खेल मैदानमा मंगलबार भएको सेमिफाइनलमा दुवै टोलीले आ–आफ्ना प्रतिद्धन्द्धीलाई पन्छाउदै उपाधि नजिक पुगेको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा बनेपा स्पोर्टस् सेन्टरले रियाले स्पोर्टस् सेन्टर भक्तपुरलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
निर्धारित समयमा बनेपाका सरोज घिसिङ र स्टेभन वाज्दाले गोल गरे । रियालेका सन्जय राववहाक र जेनिस राजवहाकले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै सरोजको गोलबाट बनेपाले खेलमा अग्रता बनाएको थियो । १२औं मिनेटमा रियालेका सन्जय राजवहाकले बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा जेनिस राजवहाकले गोल गर्दै रियालेलाई २–१ को अग्रता दिलाएका थिए । ३७औं मिनेटमा स्टेभनले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । बनेपाका गोलरक्षक विशाल सुनुवार खेलको म्यान अफ दि म्याच घोषित भए ।
मंगलबारै भएको अर्काे खेलमा चावहिलले पद्माज्योति काभ्रे बोर्डरलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुग्यो । चावहिलको जितमा ६०औं मिनेटमा सुशान्त श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । सुशान्त नै खेलको म्यान अफ दि म्याच घोषित भए ।