एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको लागि यस सिजन बिर्सनलायक रहयो । सिजनको सुरुवात स्पेनका राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसँग सुरु गरेको रियलले अन्त्यसम्म तीन प्रशिक्षकको सहायता लियो ।

सिजनको सुरुवात खराब भएपछि रियलले जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो । उनले १० खेलमा रियलको जिम्मेवारी सम्हाल्दा १४ अंक जोडे । उनले यसक्रममा ४६.६६ प्रतिशत अंक मात्र जोड्न सके ।
उनको स्थानमा आएका सान्टियागो सोलारीले १२ जित, ४ हार र १ बराबरी खेलाउँदै ७२.५४ प्रतिशत अंक जोडे । सोलारी टोलीबाट बर्खास्त हुनुमा सान्टियागो बर्नाबाउमा आयाक्सविरुद्ध भोगेको लज्जास्पद हार नै मुख्य कारण थियो ।
त्यसपछि जिम्मेवारी सम्हालेका जिदानले ३३ अंकमध्य १७ अंक मात्र जोड्न सकेका छन् । उनले उपलब्ध भएकोमा ५१.५१ प्रतिशत अंक जोडे । जिदानले युवा खेलाडीलाई मौका दिँदै अर्को सिजनको लागि तयारी गरिरहेका हुन् ।