एजेन्सी – बोलिभियन रेफ्री भिक्टर ह्युगो हुर्टाडोको खेल खेलाउने क्रममा हृदयघात भएपछि अस्पतालमा निधन भएको छ ।

बोलिभियन लिगअन्तर्गत अल्वेज रेडी र ओरीएन्टे पेट्रोलेरोको खेल चलिरहेको अवस्थामा ४७ औं मिनेटमा ह्युगो एक्कासी उत्तानो परेर लडेका थिए । खेल झन्डै ४ हजार मिटर उचाईमा रहेको म्युनिसीपल रंगशालामा खेलिएको थियो । उनलाई मैदानमा छँदै हृदयघात भएको अल्वेज रेडीका टिम डाक्टर एरिक कोस्ज़िनेरले जानकारी दिए ।
३१ वर्षिया ह्युगोलाई अस्पताल लगेपछि भने गम्भीर हृदयघात भएको थियो । डाक्टरहरुले त्यसपछि भने उनलाई बचाउन सकेनन् । ह्युगो मैदानमा लड्दा खेल गोलरहित बराबरीको स्थितिमा रहेको थियो । त्यसपछि खेल जारि राख्दै अल्वेज रेडीले ५-० ले जितेको थियो ।
बोलिभिया का राष्ट्रपति इभो मोरालेसले ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति श्रद्दान्जली अर्पण गरेका छन् । संघले राष्ट्रिय फुटबलमा ७ दिनको लागि शोक प्रस्ताव राखेको छ ।