एजेन्सी – आयाक्सका युवा कप्तान माथिस डे लिट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने सम्भावना बढेको छ । यसअघि खेलाडी आफैंले बार्सिलोना जाने इच्छा जाहेर गरेपनि डे लिटका एजेन्टले मोटो रकम माग राखेपछि बार्सिलोना पछि हटेको थियो ।

अर्को प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले पनि डे लिटलाई पछ्याईरहेको छ । तर युनाइटेडले एजेन्टको इच्छाअनुसार रकम खर्चन तयार भएपछि डे लिट युनाइटेड आउने सम्भावना बढेको हो । डे लिटले प्रति साता साढें ३ लाख पाउण्डको माग राखेका थिए । उनले आयाक्सको कप्तानी गर्दै यस सिजन लिग र कपको दोहोरो उपाधिसँगै च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याएका थिए ।
यस सिजन हल्यान्डको प्लेयर अफ द इयर बनेका डे लिट आफ्ना सहकर्मी फ्रान्की डे जोङसँग बार्सिलोना जाने सम्भावना देखिएको थियो । तर बार्सिलोनाले एजेन्टको मागअनुसार खर्च गर्न नमान्दा उनले प्रिमियर लिग रोजेका हुन् । यसअघि ज्लाटन इब्राहिमोभिचका समेत एजेन्ट रहेका मिनो रायोलासँग बार्सिलोनाको सम्बन्ध राम्रो छैन ।
यद्यपि युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएका कारण डे लिटले अन्य प्रस्तावलाई पनि हेर्नेछन् । सिटीले रकमको प्रस्ताव स्वीकार गरेमा उनले म्यानचेस्टर सिटी रोज्न पनि सक्छन् । सिटीका कप्तान भिन्सेन्ट कम्पनीले यसै सिजन क्लब छाडेका छन् ।